• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
लालीगुराँस  नेसनल एकेडेमीले मेयर सिल्डको उपाधि जोगाउन सफल

साबिक विजेता लालीगुराँस नेसनल एकेडेमीले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगितामा २९ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियनको उपाधि रक्षा गरेको छ ।तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कांस्यसहित टिममा दोस्रो भयो । पहिलो संस्करणको च्याम्पियन हिमरश्मि गत संस्करणमा पनि उपविजेता भएको थियो ।

तेस्रो भएको किन्डर गार्डेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । चौथो स्थानमा रहेको मानसिंह धर्म माविले ५ स्वर्ण, ६ रजत र ३ कांस्य जित्यो । शीर्ष चार स्थानमा रहनेले क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

एथलेटिक्समा लालीगुराँस १९ स्वर्ण, ४ रजत र १ कांस्यसाथ टिम च्याम्पियन भयो । करातेमा टिम च्याम्पियन बन्दा लालीगुराँसले ६ स्वर्ण, १ रजत र २ कांस्य जितेको थियो । तेक्वान्दोमा कौशल मावि ३ स्वर्ण, २ रजत र १ कांस्यसहित टिम च्याम्पियन भयो । उसुमा टिम च्याम्पियन बनेको किन्डर गार्डेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्‍यो । टेबलटेनिसमा हिमरश्मि २ स्वर्ण र १ रजतसाथ टिम च्याम्पियन भयो । ब्याडमिन्टनमा पनि हिमरश्मि १ स्वर्ण र २ रजतसहित च्याम्पियन बन्यो ।

सेक्रेड हार्टले छात्र/छात्रा दुवैमा फुटबलको उपाधि जित्यो । कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि विजेता बने । भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते । जुनियर ब्वाइजमा लालीगुराँस र सिनियर गर्ल्समा हिमरश्मि बास्केटबल उपाधि जित्न सफल भए ।

‘खेल तार्केश्वरको, सन्देश एकताको’ भन्ने नारासहित मंसिर १८ देखि सुरु प्रतियोगितामा विभिन्न १० खेलमा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडीले सहभागिता जनाएको संयोजक राजेन्द्रप्रसाद तिमिल्सिनाले जनाए ।

विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीलगायतले पुरस्कृत गरे ।

 

सम्बन्धित समाचार

Facebook Comments