• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
ज्ञान संस्कार इन्टरनेशनल स्कूलमा श्रीमद्भगवद्गीता जयन्ती सभ्य र भव्यरूपमा सम्पन्न

मङ्सिर २६, काठमाडौँ

गीता जयन्ती (मोक्षदा एकादशी)को अवसरमा ज्ञान संस्कार इन्टरनेशनल स्कूलले श्रीमद्भगवद्गीता जयन्ती सभ्य र भव्यरूपमा सम्पन्न गरेको छ । काठमाडौँका १५ भन्दा बढी विद्यालयहरूको प्रत्यक्ष सह‌भागिता रहेको उक्त कार्यक्रको प्रमुख अतिथिका रूपमा श्रीस्वर्गद्वारी आश्रमका श्रद्धेय गुरु डा. श्री १०८ रुद्रानन्द ब्रह्मचारी ज्यूको उपस्थिति रहेको थियो भने ज्ञान संस्कार इन्टरनेशनल स्कूलकी प्रधानाध्यापक निलम बानिया बडु कार्यक्रमको संयोजक हुनुहुन्थ्यो । 
विभिन्न विद्यालयका पचासभन्दा धेरै छात्रछात्राहरूको प्रत्यक्ष सहभागितामा प्रतियोगितात्मक श्रीमद्भगवद्गीता वाचन, संस्कृतको गीत गायन, श्रीमद्भगवद्गीताका आधारमा नाटक प्रदर्शन, विभिन्न श्लोकहरूको वाचन गरिएको कार्यक्रम भव्य एवं सभ्य रूपमा सुसम्पन्न भएको थियो । 


ज्ञान संस्कार इन्टरनेशनल स्कूलकी प्रधानाध्यापक निलम बानिया बडूले शास्त्रीय छन्दको मर्मलाई जीवन्त राख्दै गीताको श्लोक वाचन हुनु र त्यसको अर्थलाई समयानुकूल बनाएर वाचन गर्नु भनेको अबको नयाँ पुस्ताले अध्यात्मिक ज्ञानका माध्यमबाट विश्वमा आफ्नो उपस्थितिको अपेक्षा गर्न चाहेको भन्ने बुझिन्छ । अतः यसलाई परिपूर्ति गर्न निरन्तर ज्ञान संस्कार इन्टरनेशनल स्कूल लागिरहने जानकारी दिनुभयो ।
प्रमुख अतिथि रुद्रानन्द ब्रह्मचारीले आधुनिक शिक्षालाई समाज सुहाउँदो बनाउनका लागि गीताको मार्गदर्शनमा हरेक व्यक्ति चल्नुपर्ने र त्यसले नै अबको समाजमा नयाँ चेतनाको विकास हुने र समाजलाई आवश्यक जनशक्तिको उत्पादन हुने कुराको जानकारी दिनुभएको थियो । यसै कार्यक्रममा वक्ताहरूले आफ्नो मन्तव्य दिने क्रममा नयाँ पुस्तामा नेपाली सांस्कृतिक परम्परा प्रतिको आस्था र विश्वास बढाउन तथा संस्कारयुक्त समाजको निर्माण गर्न यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्ने वक्तव्य दिनुभएको थियो । 


यस कार्यक्रममा टोखा नगरपालिका वडा नं १०का वडाध्यक्ष श्री मचाकाजी महर्जन, टोखा नगरपालिका शिक्षा शाखाका निर्देशक श्री बाबुराम गौतम, ज्ञान संस्कार इन्टरनेशनल स्कूलका सर्वाङ्‌गीण विकास सल्लाहकार श्री विश्वनाथ ‘प्रेम’ बरालको उपस्थिति रहेको थियो ।  श्रीमद्भगवद्गीता वाचन प्रतियोगितामा निर्णायकको भूमिका आचार्य श्री देवी प्रसाद बराल र आचार्य श्री पर्वतराज घिमिरेले बहन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments