• २१ माघ २०८२, मङ्गलवार
  • १० °C काठमाडौं
इमर्जिङ टिम्स एसिया कप : सहज छैन नेपालको यात्रा

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने आठवटै राष्ट्रले आफ्नो अन्तिम टोलीको घोषणा गरेका छन् । श्रीलङ्कामा बिहीबार सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्ने छ ।प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुईवटा खेल हुने छन् । श्रीलङ्काको ‘ए’ टोलीले बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने छ । बिहीबारकै अर्को खेलमा अफगानिस्तानको ‘ए’ टोलीले ओमानको सामना गर्ने छ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ । नेपाली टोली प्रतियोगितमा सहभागी हुन श्रीलङ्का पुगिसकेको छ । अन्य राष्ट्रका टोली पनि श्रीलङ्का पुग्ने क्रम जारी छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

पवन सर्राफलाई अन्तिम समयमा आएर टोलीमा समावेश गरिएको हो । त्यसअघि आरिफ सेख टोलीमा परेका थिए । तर घरायसी कारणले गर्दा आरिफले प्रतियोगिता खेल्न नसक्ने भएपछि उनको स्थानमा पवनलाई राखिएको हो ।

दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि टोलीमा छैनन् । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीले इमर्जिङ टिम्स एसिया कप नखेलेका हुन् । सन्दीप र दीपेन्द्र क्यानडामा आयोजना हुने फ्रेन्चाइज लिग ‘ग्लोबल टी–ट्वान्टी’ मा आबद्ध छन् । ग्लोबल टी–ट्वान्टी लिग जुलाई २० देखि अगस्ट ६ सम्म आयोजना हुँदै छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिङ्गापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणको समूहगत चरणमा नेपाली टोली तीनवटै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँगै समूह ‘ए’ मा परेको थियो ।

भारत र पाकिस्तानले यू–१९ टोली समावेश गराएका थिए । पहिलो खेलमा अफगानिस्तानसँग डकवर्थ एन्ड लुइस नियमका आधारमा तीन रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग ८४ रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोलीलाई पाकिस्तानले नौ विकेटले हराएको थियो । पहिलो संस्करणको फाइनलमा भारतले पाकिस्तानलाई नौ विकेटले पराजित गरेको थियो ।

त्यसपछि दोस्रो संस्करण सन् २०१७ मा बङ्गलादेशमा आयोजना भएको थियो । नेपाली टोली बङ्गलादेश, पाकिस्तान र हङ्कङसँग समूह ‘बी’ मा परेको थियो । समूहगत चरणमा एक जित र दुई हार भोगेको नेपाल तेस्रो भएको थियो । उक्त समूहबाट पाकिस्तान र बङ्गलादेश सेमिफाइनलमा पुगेका थिए ।

पहिलो खेलमा नेपाललाई पाकिस्तानले ६ विकेटले हराएको थियो । नेपाली टोली दोस्रो खेलमा बङ्गलादेशसँग ८३ रनले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा भने नेपालले हङ्कङलाई सात विकेटले हराएको थियो । फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि चुमेको थियो ।

यसैगरी सन् २०१८ मा श्रीलङ्का र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले खेल्ने अवसर पाएन । तेस्रो संस्करणको फाइनलमा श्रीलङ्काले भारतलाई तीन रनले हराउँदै उपाधि हात पारेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments